बेलबारी । नेपाली काँग्रेसको १४ औं अधिवेशन पार्टीको संघीय विधान अनुसार फाल्गुण ७ देखि १० सम्म काठमाण्डौंमा सम्पन्न हुनेभएपछि देशैभर निर्बाचनको चर्चा शुरु भएको छ ।
नेपाली काँग्रेसले तय गरेको संसोधित कार्यतालिका बमोजिम असार मसान्तमा समायोजन सकेर फाल्गुण ७ गते देखि १० गते सम्म केन्द्रीय अधिवेशन काठमाण्डौंमा सम्पन्न हुनेछ । संसोधित नयाँ कार्यतालिका बमोजिम पालिकाहरुको अधिवेशन आगामी पुष ८ गते सम्पन्न भइसक्नु पर्नेछ । यसै सन्दर्भमा मोरङको बेलबारीमा बिशेषगरी ३ जनाको नाम सभापतिका लागि चर्चामा रहेको छ । सभापतिका लागि हालका सभापति शम्भु भटराई,सचिब राजेश खत्री र नेपाल तरुण दल क्षेत्र नम्बर ३ का अध्यक्ष छत्र लिम्बुको नाम चर्चामा रहेको छ । उनीहरु खुलेर आफु उम्मेदवार भएको दाबी गर्न थालेका छन ।
को हुन सभापतिका उम्मेदवार ?

१.राजेश खत्री – राजेश खत्री हाल बेलबारी काँग्रेसको सचिब हुन । नेपाल बिद्यार्थी संघ सुकुना बहुमुखी क्याम्सबाट स्नातोकोत्तर गरेका उनी सोही क्याम्पसको नेबिसंघ सभापति समेत बनेका थिए । सक्रिय राजनीति सँगै बिभिन्न क्याम्पस र बिद्यालयमा अध्यापन गराउने उनी बेलबारी २ मा रहेको शिक्षा सन्देश ई.स्कुलका प्रिन्सिपल समेत हृुन ।
नगरभित्र र बाहिर हुने बिभिन्न राजनीतिक कार्यक्रममा सक्रियतापुर्बक लागिरेहेका उनी बिपि अध्यायन केन्द्र क्षेत्र नम्बर ३ का सभापति समेत हुन । उनी हाल बेलबारी जेसिजका अध्यक्ष समेत हुन । बेलबारी काँग्रेसमा सबैभन्दा बढी अध्यायनशिल मानिएका उनी सभापतिका प्रबल दाबेदार हुन । उनी बेलबारी काँग्रेस सुस्त भएको र बिभिन्न गुट र उपगुटका कारण कमजोर भएका कारण पार्टीलाई एकताबद्ध गर्दै पार्टीमा सम्बृद्धि ल्याउन र पार्टीलाई चुस्तदुरुस्त रुपमा अघि बढाउन आफनो उम्मेदवारी रहेको दाबी गर्छन ।

२. छत्र लिम्बु – हाल तरुण दल क्षेत्र नम्बर ३ का सभापति रहेको लिम्बु हक्की स्वभावका मानिन्छन । कोही सँग झुक्न नमान्ने उनी स्पष्टबत्ताका रुपमा समेत चिनिन्छन । दर्जनौ संघसंस्थाको नेतृत्व सम्हालेका उनी डाँगीहाट फुटबल क्लब र सृजना सामुदायिक बन उपभोत्ता समुहका समेत अध्यक्ष हुन । बेलबारी ८ मा बसोबास गर्ने उनी आफुलाई पार्टीमा कोईराला पक्षधर भन्न रुचाउँछन ।
उनी कुनैपनि हालतमा आफु बेलबारीको नगरसभापति बनेर पार्टीको नेतृत्व गर्ने र पार्टीलाई उचाईमा पुर्याउने बताउँछन । बेलबारी काँग्रेसलाई अघि बढाउन युवा नेतृत्व आबश्यक भएका कारण उनी युवाले नेतृत्व पाउनुपर्ने र पार्टीलाइृ अघि बढाउन सकिने दाबी गर्छन । उनी जुनसुकै हालतमा पार्टीको सभापति बन्ने दाबी गर्छन ।

३.शम्भु भटराई – भटराई नेपाली काँग्रेस बेलबारीका बर्तमान सभापति हुन । उनी पुन एकपटक सभापति दोहोर्याउने पक्षमा रहेका छन । पार्टीको नेतृत्व सम्हालेदेखि कुनै ठुलो विवादमा पनि नमुछिएको र कुनै काम पनि नगरेको कार्यकर्ताहरु बताउँछन । उनी सरल स्वभावका मान्छिन । कलाकारिता र ब्यबसायमा समेत संलग्न उनी फेरि एकपटक सभापति दोहोर्याउने पक्षमा छन ।
पार्टीलाई सुदृढिकरण गर्दै बिगतमा भएका कमीकमजोरीबाट पाठ सिक्दै बिगतमा सिकेका अनुभवहरुको प्रयोग गरी पार्टीको नेतृत्व हाँक्ने पक्षमा छन । पार्टीको नियम र बिधानअनुसार पार्टीका भातृसंगठनहरुलाई चुस्तदुरुस्त पार्ने देखि टोल कमिटिीलाई समेत तिब्र रुपमा अघि बढाइृएको उनी बताउँछन । सभापति बन्नु अघि पार्टीको सचिब बनिसकेका उनी फेरी एकपटक नेतृत्व सम्हाल्ने दाउमा छन ।

चर्चामा रहेको यि नामहरु बाहेक अन्य केही ब्यत्तिहरु समेत सभापतिका आकाँक्षीका रुपमा रहेका छन । उनीहरु खुलेर नबोलेपनि आफुहरु पनि सभापतिको उम्मेदवार भएको बताउन थालेका छन । पछिल्लो समय बेलबारीमा देउवा पक्ष कमजोर बन्दै गएपछि देउवा समर्थकहरु समेत आफु कोईराला पक्षधर भन्न थालेका छन । तसर्थ कोईराला पक्षधर उम्मेदवारकै बिच चुनावी भिडन्त हुने देखिन्छ । एक उम्मेदवारले अर्का उम्मेदवारको अस्तित्व स्वीकार गर्न नसकिरहेको अबस्थामा बेलबारीमा यि तीन जनाबिच त्रिपक्षीय चुनावी भिडन्त हुने लगभग पक्काजस्तै छ ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!