बेलबारी । राजनीतिलाई सत्तामा पुग्ने भर्याङ सम्झिने र आफैलाई भोट हालेर चुनाव जिताउने मतदातारुलाई बिर्सिएर ब्यत्तिगत स्वार्थमा रमाउने र अकुत सम्पत्ति कमाएर मोजमस्ती गर्नेहरुले ३ पटक सम्म सांसद बनेर पनि सादा जीवन,उच्च बिचारका साथ जीवन ब्यतित गरिरहेका पुर्वसाँसद हर्कमान तामाङबाट सिक्नुपर्ने धेरै कुराहरु छन । नेपालको कम्युनिष्ट आन्दोलनको शुरुवातदेखि बिभिन्न आरोह र अबरोह पार गर्दै पटक पटक साँसद बन्नुभएका एक ईमान्दार,कर्तब्यनिष्ट र बौद्धिक ब्यत्तित्व तामाङले नेपालमा मात्र नभएर भारतीय कम्युनिष्ट आन्दोलनमा समेत योगदान पुर्याउनुभएको छ ।
तामाङ हाल मोरङको बेलबारी २ लालभित्तिमा बसोबास गर्नुहुन्छ । २०४८,२०५१ र २०५६ सालमा यस क्षेत्रबाट नेकपा एमालेका तर्फबाट साँसद बन्नुभएका उहाँ यतिबेला लेखनमा ब्यस्त हुनुहुन्छ । बि.स २००८ साल साउन २५ गते भोजपुर जिल्लाको बोखिममा मातापिता चन्द्रमान र ईन्द्रमाया तामाङको दोस्रो सन्तानको रुपमा जन्मिनुभएका उहाँ ३ बर्षको उमेरमा भारतको कलकत्तामा जागिरे रहनुभएका बुवा सँगै उतै जानुभयो । स्थानीय बंगाली स्कुलमा प्रारम्भिक शिक्षा,दार्जिलिङको बिद्यासागर हाईस्कुलमा कक्षा ७ सम्म,त्यसपछि त्यहिको सरकारी उच्च बिद्यालयमा एसएलसी,र सरकारी कलेजमा ग्रयाजुएसन गरेपछि उहाँले त्यहिको एक ब्रिटिस बिद्यालयमा केही समय पढाउनुभयो । २०२८ सालतिर उहाँ सुनसरीको धरानमा आउनुभयो । त्याँहा टयुसन पढाउँदै केही बर्ष बरालिनुभयो । केही बर्षपछि उहाँ शिक्षक बन्न पाँचथर जाने क्रममा उहाँ ईलाममा नै बस्नुभयो र क्याम्पस पढाउनुभयो ।
अग्रेजी,हिन्दी,बंगाली,नेपाली लगायत भाषामा राम्रो दख्खल राख्ने उहाँ त्यसपछि झापा झर्नुभयो । एक पसलमा काम गर्दै स्थानीय बोर्डिङ स्कुलमा पढाउनुभयो । पछि मोरङको बेलबारीमा रहेको भगवती माबिमा काम गर्ने अफर आयो र उहाँ २०३९ सालमा बेलबारी आउनुभयो । सोही बिद्यालयमा प्रधानाध्यापक समेत बनेर उहाँले शिक्षण गनुभयो । सोही क्रममा २०४५ सालमा उहाँलाई पञ्चायती सरकारले निष्कासन गर्यो । त्यसपछि उहाँ राजनीतिमा सक्रिय हुँदै पटक पटक सांसद बन्नुभयो । उहाँसँग नेपालको कम्युनिष्ट आन्दोलन र बर्तमान अबस्थाका बारेमा गरिएको संवादका सम्पादित अंशहरु – 

राजनीतिमा कसरी लाग्नुभयो ?
मलाई जतिबेला कम्युनिष्टका बारेमा थाह थिएन । म दार्जिलिङको घरमा थिएँ । मेरो घरमा एकजना ब्यत्ति आउनुभयो । उहाँ हेर्दा पाको उमेरको,रंग उडिसकेको लुगा,सामान्य जीवन हेर्दा एकदमै निम्छरो लाग्ने देखिन्थ्यो । धेरै भाषाहरु बेल्न सक्ने ब्यत्ति मेरो घरमा ४।५ दिन बस्नुहुन्थ्यो । पछि मैले बुवा सँग सोधे त्यसपछि थाह पाएँ । उहाँ भारतिय कम्युनिष्ट पार्टीको महासचिब पि.सुन्दरैया हुनुहुदो रहेछ । त्यतिबेला मैले थाह पाँए । मेरो बुवा कम्युनिष्टको सदस्य हुनुहुदो रहेछ । र म पनि कम्युनिष्ट रहेछु । उहाँको कुराहरु र उहाँको जीवन देखेर म कम्युनिष्टमा प्रभावित भएर लागेँ । पछि मजदुर आन्दोलन भयो । त्यसमा पनि सहभागी भएँ । रातो झण्डा बोकेर ईन्कलावको नारा लगाएँ । एकजना बिदेशीले त्याँहा चिया उद्योग चलाएका थिए । उनले मजदुरमाथि गरेको अन्यायका बिरुद्ध आन्दोलन भयो । म पनि सहभागी भएँ । त्यसबेला माईला बाजे लगायतका नेताहरु सँग भेटघाट समेत भयो । त्यो बेला ति मजदुरको पक्षमा लडियो । पछि ती मालिकले घुँडा टेके । अन्याय र अत्याचारको बिरुद्ध लडनुपर्छ भन्ने चेत भयो । त्यसपछि कम्युनिष्ट बनेको हुँ ।

नेपालका कम्युनिष्ट सँग कसरी भेट भयो ?
त्यसबेला नेपालबाट मोदनाथ प्रश्रित लगायतका नेताहरु भारत जान्थे । प्रशिक्षण गराउथे । नेपाल जानुपर्छ भन्थे । प्रश्रित नेपाल फर्केको केही दिनमा नन्दकुमार प्रसाँईहरु जान्थे । प्रश्रितले के भन्यो भन्थे । उनी त्यसबेला पुष्पलाल गद्धार हो । भन्थे अहिले सम्झिँदा त्यसबेला पनि गुट रहेछ । उनीपनि आफना कुराहरु सुनाएर फर्किन्थे । त्यसबेला नै राधा ज्ञवाली लगायतका नेताहरु सँग भेटघाट हुन्थ्यो ।

अनि मदन भण्डारी,बिद्या भण्डारीहरु सँग चाँहि भेट भएन ?
मदन भण्डारी सँग बेलबारी आएपछि मात्र भेट भयो । उनीसँग भेट भएपछि उनी बित्नुअघि सम्म संगत भयो । बिद्या भण्डारी सँग त हामीले धेरै सहकार्य गर्यौ । उहाँ हाम्रै संरक्षणमा बेलबारीमा बस्नुभयो ।

कसरी शुरु भयो त नेपालमा तपाईको कम्युनिष्ट राजनीति ?
म भारतबाट शुरुमा धरान आँए । मेरो अंग्रेजी राम्रो भएका कारण आसपासमा हल्लाखल्ला चल्यो । राम्रो शिक्षक आएको छ रे भनेर । बिद्यार्थीहरु थुप्रै भए । त्यसपछि टयुशन पढाँए । २०२८ सालदेखि ३ बर्ष म धरान बसेँ । त्यसबिचमा एक किसिमका साथीहरु थिए । त्यसबेला पार्टी भुमिगत थियो । बाहिर भएका केही साथीहरु सँग भेटघाट लगायत कम्युनिष्टका कुराहरु हुन्थ्यो । त्यसबेला बामपन्थी भनेपछी कोही खुल्दैन थिए । हामी बामपन्थी बिचार बोक्नेहरुको एउटा समुह थियो । त्यहि क्रममा मलाई पाराङ भन्ने ब्यत्तिले खोजिरहेको भन्ने कुरा थाह भयो । साथीहरुले उ सँग भेट गराए । उ गुप्तचरको मान्छे रहेछ । उसले सर्तक रहनु,सरकारले निगरानी गरिरहेको छ,पक्राउ गर्नसक्छ भन्यो । त्यसपछि हामीले सल्लाह गरी तत्कालिन शिक्षा निर्देशकलाई भेटी जागिर चाहिएको र अंग्रेजी राम्रो जान्ने भनेपछि निर्देशकले त्यस्तो मान्छे चाहिएको भन्दै पाँचथरको एउटा बिद्यालयमा नियुत्ति दिईयो ।
पाँचथर जाने क्रममा ईलाममा बास बस्ने क्रममा भेट भएका एक ब्यत्तिले हामीले पनि खोजेको मान्छे,तपाई पाँचथर नजानुस यहि बसौँ भन्दै आग्रह गरेपछि त्यहि क्याम्पस पढाउन थालेँ । त्याँहा पनि गुप्तचरले थाह पाएपछि आफुलाई पक्राउ गरी अञ्चलबाट निष्कासन गरी पथलैयाको जंगलमा छोडने तयारी भएको सुनाए । त्यसपछि पार्टीका साथीहरुले झापामा रत्नकुमार बान्तावा (महेश) पार्टीको नाम ले झापामा पसल चलाएको र त्यहि पसलमा काम गर्नु भन्दै झापा पठाए । पसलमा काम गर्दै उर्लाबारीको पशुपति ईङिलस स्कुलमा पढाईरहेको बेला बेलबारीमा शिक्षक चाहिएको भन्दै तत्कालीन बिद्यालयका अध्यक्ष पुण्यप्रसाद सुवेदी (साहित्यकार) ले खबर पठाए र लिन गए । त्यसपछि २०३९ सालमा म बेलबारी आएँ । दिनभरि अरु काम गरेर राति राति पार्टीको काम चलिरहेको थियो । यसबिचमा मैले प्रदिप नेपालबाट नेकपा मालेको संगठित सदस्यता लिईसकेको थिँए ।

बेलबारी आएपछि शिक्षण र राजनीति कसरी सम्भव भयो ?
बेलबारी आएपछि पनि सहज थिएन । दिनभर शिक्षण पेशामा आबद्ध हुने राति पार्टीको कामलाई त्रिबता दिन थालेँ । मलाई बिद्यालयबाट पटक पटक निकाल्न खोजियो । एक बर्ष सम्म मलाई बेतलबी बनाईयो । बेतलबी बनेपछि छोडछ भनेर होला मलाई निकाल्न अनेक उपाय रचिन्थ्यो । पछि पञ्चायती सरकारको कोपभाजनमा परियो । श्रीमती पनि त्यहिँ पढाउनुहुन्थ्यो । म निकालिए पनि श्रीमतीको जागिरले घर टिकेको थियो । शिक्षण पेशा छोडेपछि म पार्टीमा अझ सक्रिय भएँ । त्यसबेला म ईलाका कमिटि सचिब भईसकेको थिएँ ।
तपाई ३ पटक यहि क्षेत्रबाट सांसद बन्नुभयो तर यस क्षेत्रका लागि केही गर्नुभएन भन्ने आरोप छ नी ?
आँखा सबैका हुन्छन । हेर्ने तरिका फरक हुन्छ । आँखा एक भएपनि हेराई फरक हुन्छ । म आफनो लागि कम्युनिष्ट भएको र सांसद भएको होईन । जनताले म्याण्डेड दिएर नीति बनाउने ठाँउमा पुर्याएका हुन । त्यसमा म चुकेको जस्तो लाग्दैन । आफनो गाँउ,आफै बनाउँ अभियान,बृद्धाभत्ता लगायतका कार्यक्रम त्यसैबेलाका हुन । के ती कार्यक्रमहरु मनमोहन एक्लैले गर्नुभएको हो त ? यसमा सबै सांसदहरुको उत्तिकै योगदान छ ।

तपाईले सोचेजस्तै कम्युनिष्ट पार्टी, र नेताहरु छन त अहिले ?
पटक्कै छैन । आकाश र पातालको फरक छ । जबसम्म साम्यवाद आउँदैन,तवसम्म मान्छे स्वतन्त्र हुन सक्दैन । मैले नेपालका सबै ठुला नेताहरु सँग संगत गरेको छु । यहाँ त म ठुलो,म जान्ने,मै खाँउ,मै लाउँ,मलाई सबैले मानुन भन्ने सोचाई छ । खासमा साम्यवादमा जनतालाई कुनै कुराको चिन्ता हुन्न,सरकार जिम्मेवार हुन्छ । तर यहाँ त अपराधिक प्रबृति भएका,लोभ,लालच,षडयन्त्रले भरिएका मानिसहरु छन । यहाँ लुटतन्त्र मौलाएको छ । मानिसहरु पशु झै बनेका छन । आफु मात्र भुँडी भरौँ भन्ने छ । अपराधिक चरित्रले मानिसहरु पशु झै बनेका छन । लोभ,लाभ,छलकपटले भरिएका छन । चोरलाई चोर भन्ने अबस्था छैन । त्यस्तै प्रबृतिका मानिसहरुलाई नेता मान्ने र संरक्षण गर्ने प्रचलन छ । पार्टीमा पशुको गुणले सम्पन्न कामरेडहरु छन । त्यसैकारण साम्यवाद सफल हुन सक्दैन ।

तपाईले भन्न खोज्नुभएको नेपालमा कम्युनिष्ट पार्टी र नेता छैनन भन्ने हो ?
पक्कै पनि, नेपालमा कहाँ कम्युनिष्ट पार्टी छ ? यहाँ त कम्युनिष्टको ब्यानर मात्र छ । त्यहि ब्यानरमा बसेर कम्युनिष्ट हुँ भन्छन । कुनै पनि ठुला भनिएका नेताहरु कम्युनिष्ट छैनन । सच्चा कम्युनिष्ट त यहाँ कोही छ जस्तो लाग्दैन ।

केही समय अघि यहाँले पनि अब अकम्युनिष्ट भन्नुभयो किन ?
मैले अघि पनि भनेँ नेपालमा कम्युनिष्ट नै छैन । यहाँ त सबै खराब काम गर्नेहरु,पशु सरह बनेका मानिसहरु आफुलाई कम्युनिष्ट दाबी गर्छन । मानिसहरु पनि त्यस्तै चोर र फटाहाका पछि लाग्छन । अनि के अर्थमा मैले कम्युनिष्ट भन्नु,त्यसैले अकम्युनिष्ट भनेको हुँ ।

पछिल्लो समय साहित्य र लेखनमा लाग्नुभएको छ किन ?
लेखनमा जति शत्ति केहीमा छैन । तर लेखेर मात्र हुँदैन । बेलबारीकै कुरा गर्ने हो भनेपनि बेलबारीमा धेरै साहित्यकार छन । तर उनीहरुका पाठक छैनन । पाठक नै नभएपछि उनीहरु कसरी साहित्यकार र लेखक ? एउटा पुस्तक प्रकाशन गरेर मात्र लेखक भईन्न । लेखक बन्न पाठक चाहिन्छ । म पनि पाठकको खोजीमा छु । केही लेखनको कोशिष गरिरहेको छु । म धेरै पढ्न र लेख्न चहान्छु तर समय एकदमै अपुग भएको छ ।
आगामी दिनका योजनाहरु चाँहि के के छन ?
मेरा योजनाहरु धेरै ठुला छन । पार्टीमा कुरा गर्दा पार्टीका नेताहरुको बेहाल छ । यस्को कारण सत्य कुरा के हो भन्ने कुराको बास्तविकताबाट अनभिज्ञ हुनु वा जानेर पनि नजानेको नाटक गर्नु । बहुसंख्यक जनता परिबर्तन चहान्छन । अझैपनि जनताले परिबर्तनको आभाष गर्न सकेका छैनन । म मानिसहरुले आफनो मर्यादा पाउने समाज निर्माणका लागि काम गर्न चहान्छु । अब कस्तो साहित्य लेखिनुपर्छ,लेखकका किताव किन बिक्दैनन,पठन संस्कृतिको बिकास किन हरायो ? लगायतका बिषयमा एउटा प्रशिक्षण चलाउन चहान्छु । यसका लागि सम्बन्धित केही ठाँउमा कुरा पनि गरेको छ । प्रस्तुति -नरेन्द्र बस्नेत

तपाईको प्रतिक्रिया

error: Content is protected !!