उर्लाबारी / मोरङको उर्लाबारी नगरपालिका–९ भोटेपुलमा बस्दै आएका टेकबहादुर कटुवाल झार देखाउँदै भन्दै थिए, ‘यसैले हो मेरा पाँचवटा खसी मारेको छ ।’
चाउरी परेको अनुहार र पुराना एवं ठाउँठाउँमा फाटेका मैला कपडा लगाएका उनले आफ्ना पीडा र दुःख सबै खोले । ज्यालामजदुरी गरेर कमाएको पैसाले साना पाठा किनेर हुर्काउँदै बनाएका खसी सबै मरेपछि आफ्ना भविष्यका योजना चकनाचुर भएको गुनासो उनले गरे । सबै खसी मरेको सुनेर वरपरबाट भेलाजम्मा भएकाहरुलाई उनी रुँदै आफ्ना बिलौना सुनाउन विवश भए ।
खसी मरेसँगै गरिबीले गाँजेको उनका भविष्यका सबै सपना ढलेका छन् । सबैको मन चसक्क पार्ने टेकबहादुरको यो पीडामा छिमेकीले मलमपट्टी लगाउने प्रयास भने गरिरहेका छन् । कमजोर पारिवारिक आर्थिक अवस्थासँगै पीडाको रापले गलेका उनलाई पछिल्लो तनावले झन् पिरोलेको छ ।
टेबहादुर नौ जनाको परिवारसहित अर्काको घरमा बस्दै घरधनीकै खेतबारी अधिँया कमाएर परिवारको जीविका चलाउँछन् । उनी भोजपुरबाट २०७३ सालमा सपरिवार तराई झरेका हुन् । खेतीबाट भएको कमाइले परिवार धान्न मुस्किल छ । ‘ज्यालामजदुरी पनि गर्छु,’ कटुवालले भने, ‘आफ्नो थातथलो छाडेर तराई झरेपछि दुःखै दुःखले घेरिएको छु ।’
कटुवालले पालेका पाँचवटा खसी शुक्रबार बिहान एक्कासि मरेपछि गरिबीको चपेटामा पिल्सिरहेका उनलाई अर्को विपत्ति आइलागेको हो । सबै खसी २५ किलोभन्दा माथिका रहेको स्थानीयले बताए । स्थानीय स्तरमा उल्टो झार भनेर चिनिने काँडा भएको घाँस कटुवालले बिहीबार साँझ सबै खसीबाख्रालाई खुवाएका थिए । त्यसपछि पाँचवटा खसी शुक्रबार बिहान ८ बजेतिर मरेका हुन् ।
बाँधेको ठाउँमा पेट फुलेर डम्म अवस्थामा देखिएका खसी एक्कैछिनमा फिँज र र्याल निकाल्दै भकाभक ढल्न थाले । खसीमात्रै ढलेनन्, उनका सबै योजना र सपना गर्र्यामगुर्लुम भएका छन् । पीडामाथिको दर्दले थिचिएका उनी अब कहिल्यैमाथि उक्सिन नसक्ने भन्दै विलौना गर्छन् ।
‘मैले नचिन्दा छिमेकीले उखेलेर फ्यालेको झार घाँस हुन्छ भन्दै ल्याएर खुवाएको थिएँ,’ कटुवालले भने, ‘बिहान एकपछि अर्को गर्दै पाँचवटा खसी मरेपछि योभन्दा ठूलो तनाव अरु के हुन्छ र ?’ मरेका सबै खसी खाल्डो खनेर गाड्नु पर्दा उनलाई आफ्ना सबै कुरा माटोमा गाडिएको महसुश भएको छ ।
ठूलो परिवार लिएर अर्काको घरमा बसेको लामै समय भयो । तिनै खसी बेचेर सानो कटेरो (घर) बनाउनु पर्यो भन्ने सोंच बनाएको थिएँ,’ आँखाबाट आँसु झार्दै उनले भने, ‘तर घर बनाउने सपना सबै तुहियो । चाडवाड पनि नजिकिँदै गरेकाले खसी बेचेर अलिअलि घर खर्च पनि चलाउन हुन्छ भन्ने लागेको थियो ।’ कटुवालले लामो समयदेखि भइरहेको ‘लकडाउन’ले आर्थिक अभाव जर्जर भएर बिहानबेलुका छाक टार्न धौधौ परेका बेला झन् ठूलो पीडाले थिचिएको गुनासो गरे ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!