विराटनगर । समुदायस्तरमा कोरोना संक्रमण फैलिएको प्रदेश १ मा मन्त्रीसहित हाई–प्रोफाइलमा एकपछि अर्को गर्दै कोरोना संक्रमण दखिन थालेको छ । तर निको हुने क्रम पनि बढिरहेको छ ।
प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेदेखि मुख्य न्यायाधिवक्ता, प्रदेश सांसदसहितमा कोरोना देखिइसकेको छ। मन्त्री घिमिरे अहिले होम आइसोलेसनमा रहेका छन्। अन्य धेरै उच्च पदस्थ संक्रमित कोरोनामुक्त भई घरमा आराम गरिरहेका छन। निको भएका कोरोना जितेर नियमित काममा फर्किन थालेका छन्। प्रदेशका मुख्य न्यायाधिवक्ता चूडामणि आचार्य पहिलो कोरोना संक्रमित हुने हाई प्रोफाइल व्यक्ति थिए।
मोरङको विराटनगर–५ का स्थानीय निवासी मुख्य न्यायाधिवक्ता आचार्य तथा उनको परिवारका अन्य तीन सदस्यलाई गएको साउन १९ गते संक्रमण देखिएको थियो। अहिले आचार्यसहित परिवारका सदस्य कोरोनामुक्त भइसकेका छन्। लगत्तै कोरोना संक्रमित हुने अर्का उच्च व्यक्तित्व हुन् प्रदेश सभासद कुसुम कुमारी श्रेष्ठ। उनलाई २२ दिनअघि अर्थात् साउन २८ गते कोरोना संक्रमण भएको थियो। हाल उनी कोरोनामुक्त भएर घरमा छिन्।
विराट मेडिकल कलेजका सञ्चालक डा ज्ञानेन्द्रमानसिंह कार्कीमा भने कडा लक्षण सहितको संक्रमण देखिएको थियो। बीपी प्रतिष्ठान धरानमा भर्ना भएका उनी त्यहीँबाट हेलिकोप्टर मगाएर काठमाडौंको टिचिङ अस्पतालमा थप उपचारका लागि गए। प्लाज्मा थेरापी गराएको केही दिनपछि भने उनले कोरोना जिते। उनी पनि अहिले स्वास्थ्य लाभपछि घरमै छन्। उनीजस्तै प्रदेश तथा जिल्ला तहका उच्च आहोदाका कर्मचारी, राजनीतिज्ञ, चिकित्सक, पत्रकार पनि यो बीचमा संक्रमित भएका छन।
कतिपय अहिले पनि होम आइसोलेसनमा छन् भने धेरैजसो निको भएर नियमित काममा फर्किसकेका छन् । मन्त्री जीवन घिमिरेलाई गएको सोमबार कोरोना संक्रमण भएको पुष्टि भयो। तर तीन दिन बितिसक्दा पनि मन्त्री घिमिरेलाई कहाँबाट कोरोना सयौं भन्ने पत्ता लगाउन कठिन भएको छ। गत शनिबार धनकुुटाको एक कार्यक्रममा पुुगेर फर्किएपछि उनलाई कोरोना लक्षण देखिएको थियो।
कोरोना पुष्टि भएका मन्त्री घिमिरे अहिले होम आइसोलेसनमा छन्। तर, उनको नजिकको घेरामा भएका कसैलाई कोरोना संक्रमण देखिएको छैन। मन्त्री घिमिरेका स्वकीय सचिव तिलक बहादुर बस्नेतका अनुसार हाल मन्त्रालयमा कसैलाई कोरोना पोजेटिभ देखिएको छैन। उनले भने, ‘वहाँ बजार क्षेत्रमा अनावश्यक हिँड्नु पनि भएको छैन।’ बस्नेतका अनुसार मन्त्री घिमिरे पत्नीलाई पनि संक्रमण देखिएको छैन।
कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर चुमनलाल दासले पनि मन्त्री घिमिरेलाई कहाँ कुन ठाउँमा कोरोना सर्यो थाहा हुन नसकेको बताए। उनले मन्त्रीको दौडधुुप कोरोना सँक्रमित बसेको अस्पतालदेखि विभिन्न ठाउँमा भइरहने भन्दै एकै ठाउँमा बसेको मान्छेको जस्तो कोरोना संक्रमणको स्रोत पत्ता लगाउन सहज नहुने बताए। मन्त्री घिमिरेको जस्तै संक्रमिति भएका धेरै अन्य उच्च तहका आहोदामा बस्ने व्यक्तिको अवस्था पनि उस्तै छ। मुख्य न्यायाधिवक्ता आचार्यदेखि प्रदेश सभासद कुसुमकुमारी श्रेष्ठमा कोरोना संक्रमणको स्रोत व्यक्ति अहिलेसम्म पहिचान हुन सकेको छैन।
गएको साउनको पहिलो हप्तादेखि विराटनगरसहित मोरङका विभिन्न स्थानीय तहमा कोरोना संक्रमण देखिएको थियो। हाल संक्रमित झनै बढिरहेका छन्। यो दर अझै बढने क्रममा छ। प्रदेशमा रहेर फ्रन्टलाइन बसेर काम गर्ने धेरै चिकित्सकदेखि पुलिस तथा पत्रकारको ठूलो संख्यामा कोरोना सक्रमण देखिएको समाजिक विकास मन्त्रालय स्रोतका अनुसार गएको साउनयता सबैभन्दा बढी प्रदेश १ मा फ्रन्टलाइनमा बसेर ड्युटी गर्ने २ सय ११ प्रहरीमा कोरोना संक्रमण देखिएको छ।
नेपाल प्रहरीको प्रदेश १ अन्तर्गत प्रदेशका विभिन्न जिल्ला कार्यालय, इलाकामा बसेर काम गर्ने प्रहरी निरीक्षकदेखि प्रहरी जवानसम्ममा कोरोना देखिसकेको छ।मन्त्रालयका अनुसार फ्रन्टलाइनमा बसेर बिरामीको स्वास्थ्य उपचारमा खटिएका १८ चिकित्सकसहित ८३ जना स्वास्थ्यकर्मीमा पनि कोरोना देखिएको छ। उनीहरुमध्ये १२ चिकित्सक निको भएर नियमित काममा फर्किसकेका छन्। अन्य स्वास्थ्यकर्मी पनि स्वास्थ्य लाभ गरी घरमा आराम गरिरहेका छन्। फिल्डमा रहेर सूचना सम्प्रेषण गर्ने १३ संचारकर्मीमा पनि कोरोना भएको छ ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!