सुनसरी । सुनसरीमा ढुङ्गा बोक्ने रेल उहिल्यै चल्दथ्यो भनेर अहिलेको पुस्ताले नपत्याउला तर त्यो बेलामा रेल देख्ने र रेल चढ्नेहरूको ठूलो संख्या अहिले पनि जिवित नै छ ।
अरुलाई कथा जस्तो लाग्ने सुनसरीको ढुंगे रेललाई न्यारोगेज गरेर यात्रुवाहक रेल बनाउन सकिन्थ्यो । त्यस तर्फ किन कसैको ध्यान गएन । वि.सं २०१६ देखि नै सुनसरीमा रेल सञ्चालनमा आइसकेको थियो । जतिखेर कोशी आसपास क्षेत्रमा बसोबास गर्ने मानिसहरूले इन्जिन गाडि देखेका थिएनन्, त्यसबेला नै सुनसरीका मानिसहरू ढुङ्गे रेलमा चढेर रेल यात्राको अनुभव लिइसकेका थिए । नयाँ पुस्ताले कथा ठान्लान्, तर यो सत्य हो ।
वि।संं। २०१६ सालदेखि २०३२ सालसम्म धरानको घोपादेखि भीमनगरसम्म रेल चलेको थियो । २०११ सालमा नेपाल भारतबीच कोशी सम्झौता भएपछि ढुङ्गा ओसार्न ढुङ्गे रेल सञ्चालनमा आएको थियो । भीमनगरदेखि कोशी पूर्वी तटबन्ध हुँदै बनाइएको लिकबाट ४७ किलोमिटरको दूरीमा रेल चलेको थियो । वि। संं। २०११ साल बैशाख १२ गते ९२५ अप्रिल सन् १९५४० मा नेपाल र भारत सरकारका बिच भएको कोशी सम्झौतापछि वि।सं। २०१६ सालदेखि रेल सञ्चालनमा आएको थियो । उक्त ढुङ्गे रेल सुनसरी र सप्तरीको सीमानामा पर्ने भीमनगरदेखि धरानको रेलवे लाइनसम्म र चतरासम्म चल्थ्यो ।
धरानको फुस्रेका पहाडहरूबाट घिर्लिङ्गको सहायताले ल्याइएका ढुङ्गाहरूलाई रेलवे चोकबाट रेलमा कामदारहरूले ढुङ्गा लोड गर्थे । प्रत्येक दिन रेलले दशवटा डिब्बामा ढुङ्गा ओसार्ने काम गथ्र्यो । ओसारिएका ढुङ्गाहरू ब्यारेजसम्म र तटबाँधको बिभिन्न ठाउँहरूमा मिलाएर राखिएको हुन्थ्यो ।
भिमनगरबाट छुट्ने ढुङ्गे रेलको कुशाहा, मधुवन, राजाबास, चक्रघट्टी, चतरा र घोपामा स्टेसन रहेको थियो । भिमनगरबाट खाली जाने रेल घोपा र चतराबाट ढुङ्गा लिएर फर्किन्थ्यो । त्यतिबेला बराहक्षेत्रको मेलामा जान बिशेषगरी कार्तिक शुक्ल पुर्णिमा र माघे संक्रान्तिमा मानिसहरू भिमनगर देखि चतरासम्म रेलमा र त्यसपछि हिंडेर जाने गर्दथे । स्थानियहरू त किनमेल गर्न धरानसम्म जाँदा रेलमै जाने गर्दथे । ढुङ्गे रेल भएकोले भाडा पनि नलाग्ने, यात्रा पनि सहज हुने भएपछि के चाहियो र रु मानिसहरूलाई रेलको यात्रा रमाइलो थियो । बस नदेखे पनि यहाँका मानिसहरूले रेल चढेका थिए ।
रेल चलिरहेको बेलामा रेलमा चढ्ने र ओर्लने यहाँका मानिसहरूको लागि सामान्य जत्तिकै थियो । यसरी चढ्ने र ओर्लने मानिसहरू रेलले काटिएर मरेका कहानीहरू सुन्ने गरेको भएतापनि हामीहरू रेल चढ्ने र ओर्लने गर्न छोड्दैन थियौं ।
कोशी सम्झौता भएपछि निर्माण गरिएको रेल सञ्चालनमा आउन पाँच वर्ष लागेको थियो । यो ढुङ्गेरेल कोइला र पानीबाट चल्थ्यो । दैनिक दश डब्बाहरूबाट ढुङ्गा ओसार्ने गरेको देखिन्थ्यो । एक डब्बामा दुई ट्रकभन्दा बढी ढुङ्गा हुने गर्दथ्यो । उक्त रेलको इन्जिनमा एउटा ड्राइभर, एकजना कोइला हाल्ने मान्छे अगाडि इन्जिनमा हुन्थे भने रातो र हरियो झण्डा बोक्ने एकजना कर्मचारी सबैभन्दा पछाडिको डिब्बामा हुन्थे । उसले रातो झण्डा देखाएमा बिस्तारै रेल रोकिन्थ्यो, हरियो झण्डा देखाउँदा रेल चल्ने गर्दथ्यो ।
२०४५ सालसम्म रेल चलेको थियो । ४५ सालमा राजाबासमा बाँध कटान हुँदा रेलले ढुङ्गा ओसारेको र इमर्जेन्सी लगाएर रातदिन काम भएको थियो । रेल चलाउन इन्जिनको भट्टामा छिनछिनमा कोइला हाल्नु पर्दथ्यो । स्टेसनमा रोकेर आवश्यक पानी हालिन्थ्यो । २०१६ सालबाट चलेको रेल २०४५ सालमा आएर बन्द भयो ।
नेपाल सरकार र भारत सरकारबिच भएको सम्झौता अनुसार कोशी ब्यारेज पुल निर्माण गर्न र बाँध नभत्कियोस् र आवश्यक परे तिनै ढुङ्गा प्रयोग गर्न सकिने र कटान लाग्ने सम्भावित ठाउँमा ढुङ्गा जालीमा भरेर राख्न पर्ने हुनाले आवस्यक ढुङ्गा ढुवानी गर्न यो रेल चल्ने गरेको थियो । रेलले ढुङ्गा बोक्न बन्द गरेपछि नेपाल सरकारले आफ्नो जिम्मेवारीमा त्यो रेललाई यात्रुवाहक बनाएर चलाउन सक्थ्यो । लिकहरू थिए, इन्जिन थियो, अब त्यसमा आवश्यक डब्बा ९बोगीहरू०को व्यवस्था गर्नु पर्दथ्यो । तर गरेन ।
२०४५ सालमा ढुङ्गेरेल बन्द भएपछि रेलका डब्बा र लिकहरू चोरी भए । अहिले रेल कहाँबाट कुदेको थियो भन्नेसम्म अनुमान लगाउन सकिंदैन । नयाँ पुस्ताका लागि रेल चलेको कुरा कहानी जस्तै बनेको छ । भीमनगरदेखि धरान रेल्वेसम्म र चक्रघट्टीदेखि चतरासम्मको स्थानमा रेल कुदेको कुनै पनि भग्नावशेष देख्न पाइदैन । अहिले पनि धरानको घोपामा एउटा एरियाको नाम नै रेल्वे राखिएको छ । भारतले नेपालसँग १ सय ९९ वर्षका लागि कोशी सम्झौता गरेको थियो ।
कोशी योजनाअन्तर्गत कोशी ब्यारेज र पुर्वी पश्चिम तटबन्धहरू निर्माण नभईकनै बाँझो रहेको कोशी क्षेत्रको टापुमा पहाडदेखि तराई बसाई सर्नेहरूको पहिलो रोजाई नै बन्ने गर्दथ्यो । २०३० सालमा मरिचमान सिंह भूमिसुधार मन्त्री भएको बेला यहाँको जमीन नम्बरी गरियो ।
२०३० सालमा मरिचमान सिंह भूमिसुधार मन्त्री भएको बेला यहाँको जमीन नम्बरी गरियो । २०३२ साल फागुनमा कोशी टप्पु वन्यजन्तु आरक्ष बनेपछि ३३ सालको असार महिनादेखि सामान्य कोशीको बाढी आउन थाल्यो ।
मानिसहरू बर्षामा बाढी आउँदा पूर्वतिर निस्कने र हिउँद लागेपछि यथास्थानमा बस्ने गर्न थाले । यसरी बस्दै आएका मानिसहरू ४५ सालदेखि पूर्णरूपले बिस्थापित भए । बाढीले गर्दा बिस्थापित भएका मानिसहरू पूर्वी तटबाँधमा भएको रेलको लिक नै ढाक्ने गरी बसोबास गर्न थाले । यसरी बस्ने गरेका मानिसहरूले नै यो ठाउँ भरिन थाल्यो । रेल चल्न छाडेपछि र बिस्तारै लिकहरू चोरी भएर हराएपछि यहाँ मानिसहरूले खेती गर्न थाले । यहाँबाट चोरी भएका लिकहरू पछि मुद्दाको क्रममा सुनसरी जिल्ला अदालतको परिसरमा पनि लामो समयसम्म देखिन्थ्यो ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!