बेलबारी । एक महिनाअघि भदौ ११ गते बेलुका साढे ७ बजे बजारबाट लालभित्ती हुँदै घरतर्फ जाने क्रममा केके भन्ने कृष्णकुमार चौधरीले फोन गरे । उनले छिटो लोहन्द्रा खोला आउनु मलाई साह्रै अप्ठ्यारो परेको छ भनेपछि म पुगेँ ।
लोहन्द्रा खोलामा पुग्दा मैले चिनेको दिनेश भन्ने घलेन्द्र श्रेष्ठले कृष्णकुमार चौधरीको सर्टको कलरमा समातेका थिए । दिनेशलाई यो मेरो साथी हो भनेपछि भोलि कुरा गरौंला भन्दै छाडिदियो । त्यसपछि हामी घरतिर गयौँ । राति ८ बजे घरमा पुगेपछि अशोक खवासलाई फोन गरेर लोहन्द्रा खोलाको घटना सुनाएा । भोलि बिहान चोकमा भेटेर कुरा गरौंला भनेर फोन राखेँ । भोलि पल्ट बिहान ९ बजे नेताचोकमा साथीहरू अशोक खवास, दिनेश मास्केसँग भेट भयो । त्यहीबेला कृष्णकुमार चौधरी र उनका ४–५ जना साथीहरू आएका थिए । बिशालकुमार खवास, ओम धामीलाई फोन गरेर बोलाएँ, कृष्णकुमार चौधरीले पनि अन्य साथीहरूलाई फोन गरेर बोलाए ।
बिहान ११ बजे लोहन्द्रा खोलामा साथीहरूलाई बोलाएका थिएँ । त्यसपछि हामी सबै जना मोटरसाइकलमा लोहन्द्रा खोलामा पुग्यौं । सुरुमा ५–६ जना खोलामा पुगेका थियौं । अन्य साथीहरू पनि केही बेरमा आइपुगे । त्यसपछि राति झगडा गर्ने दिनेश खोज्न पदम वन र प्रेमकुमार चौधरीलाई पठाएँ । करिब १५ मिनेटपछि दिनेशलाई लिएर आए । श्रेष्ठ र कृष्णकुमार चौधरीबीच विवाद हुँदा मैले हिजो झगडा गर्ने यहीँ हो ठोक भनेँ । त्यसपछि दिनेश माझी चौधरी, बिशालकुमार खवास, दिनेश माष्के, ओम धामी, अशोक खवाससमेतले बाँसको भाँटा र अन्य प्रभात चौधरी, प्रेम चौधरी, अनोज भन्ने अनोद माझी, दिपु खवास, बलराम चौधरी, गितार खवास, नलिन खवास, राजिन राई, राजेन्द्र भन्ने राजिन्द्र थुलुङ राई र ज्ञानव राई थुलुङ, दीपेन्द्रकुमार चौधरी, वरेन्द्र कुमा खाँले लात्त–मुक्काले हान्न थाले ।
हामीले कुटपिट गर्दै गर्दा चन्द्रकुमार राई आइपुगे । उनले झगडा नगर भनी कराउन थालेकाले मैले उसलाई पनि ठोक भनेँ । चन्द्रकुमारलाई कुटपिट गर्दै गर्दा उनका दाजु सईकुमार राई आए । उनी सोही पुलमा निर्माण भइरहेको पुलको हेरालु थिए । उनको साथमा खुकुरी थियो । सईकुमारपछि समुन्द्र राई पनि आए । गौरब राई पनि आए ।
सईकुमार राईले खुकुरी बोकेको थिए । उनले बोकेको खुकुरीले हान्दा जितेन्द्रकुमार चौधरी घाइते भए । त्यसपछि मैले सईकुमार राईको हातमा भएको खुकुरी खोसे, समुन्द्र राईको हातमा भएको बन्चरो दिनेश माझीे खोस्यो । त्यसपछि चन्द्रकुमार राईलाई प्रहार गरे । दिनेशले हातमा बोकेको बन्चरोले छातीमा हाल्दा चन्द्रबहादुर भुईमा ढले । घाइते भएका समुन्द्र राईलाई मैले टाउकोमा प्रहार गरेको थिए । दिनेशले पनि समुन्द्र राईको टाउकोमा प्रहार गरेको थियो । गौरब राईलाई पनि प्रहार गरी घाइते बनायौं । चन्द्रकुमार राईको घटनास्थलमै मृत्यु भएको जस्तो देखिएपछि हामी भाग्यौं । घाइते भएका जितेन्द्रकुमार चौधरीलाई साथीहरूले स्थानीय क्लिनिकमा लगेर उपचार गराए । थप उपचारको लागि बिराट टिचिङ अस्पतालमा लगेको थियो ।
त्यसपछि म भागेर सुनसरीको तनमुनामा आफन्त मामली घरमा १ दिन बसे, २ दिन सानो बुबा नाता पर्नेकोमा बसेँ, बराहक्षेत्र नगरपालिका–११ मधुवनमा मामलीतर्फको मितेरी साइनो पर्ने आफन्तकोमा १४ दिनसम्म लुकीछिपी बसेको अवस्थामा मिति भदौ २९ गते प्रहरीले मलाई समातेको थियो ।(सरदारले सरकारी वकिलसमक्ष गरेको बयानको सम्पादित अंश)

तपाईको प्रतिक्रिया

error: Content is protected !!