विराटनगर। व्यक्तिलाई बन्धक बनाएर कुटपिट गरेको आरोपमा प्रहरीले विराटनगर ११ पिचरा बस्दै आएका रोनल कँडेललाई नियन्त्रणमा लिएको छ ।
बिहीबार बन्धक बनाएर कुटपिट गरेको आरोपमा प्रहरीले नेपाली कांग्रेस निकट तरुण दल विराटनगरका नेता रोनल कँडेललाई नियन्त्रणमा लिएकाे हाे । प्रहरीका अनुसार कँडेलसहितको समूहले विराटनगरका युवक सञ्जय सिंघललाई अपहरण गरेपछि बन्धक बनाएर कुटपिट गरेको आरोप छ ।
बिहीबार बेलुका घरबाट बोलाएपछि गएका सिंघलले कृष्ण पार्टी प्यालेस(हाेटल)काे माथिल्लो तलामा राखेर कुटपिट गरेको भन्दै सामाजिक सञ्जाल फेसबुकमा गुनासो पोखेका छन् ।
फेसबुकबाट कुरा बाहिरिएपछि प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको हो । फेसबुकमा सिंघलले भोलिपल्ट आफूसँग रहेको चेकमा जबरजस्ती आठ लाखको हस्ताक्षर गर्न लगाउँदै कँडेलले लिएर गएको आरोप लगाएका छन् । कँडेलले कुटपिट गरेपछि होटलको खर्च तिर्न भन्दै भोलिपल्ट बिहान ५० हजार रुपैयाँ मागेको फेसबुक पोस्टमा उल्लेख छ । पैसा दिने बाहनामा आफू भागेर बचेको सिंघलले उल्लेख गरेका छन् ।
प्रहरी स्रोतका अनुसार इन्डियन प्रिमियर लिग (आईपीएल)मा सट्टेबाजी लगाउँदा हारेको रकम उठाउनका लागि सिंघलमाथि कुटपिट भएको देखिन्छ । सिंघल र कँडेल दुवै जना सट्टेबाजका खेलाडी रहेको प्रहरी दाबी छ । ‘सट्टेबाजीमा पैसा हारेपछि दुई जनाबीच हिसाब नमिल्दा घटना भएको देखिन्छ,’मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले भने, ‘जितेको भए कतै जान्थे होला, तर हारेपछि यस्तो अवस्था आएको पाइयो ।’

तपाईको प्रतिक्रिया

error: Content is protected !!