बेलबारी । मोरङको पथरीमा ओम साई अटो टेर्डस सञ्चालन गर्दै आएका ब्यबसायी शम्भु बुढाथोकी मृत्त चित्तल सहित पक्राउ परेका छन् ।
मंगलवार कानेपोखरी ७ स्थित राजमार्गमा वन्यजन्तु चित्तललाई आफ्नो गाडीमा राखेर पथरी तर्फ हुइकिदै गर्दा कानेपोखरी र पथरीशनिश्चरेको सिमाना स्थित मोरङगी खोलाको पुलमा पक्राउ परेको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।
पथरीका डिएसपी दिलिपकुमार गिरीका अनुसार “मंगलवार अन्दाजी दिनको १२ः४० बजेको समयमा प्राप्त सुचनाका आधारमा निज बुढाथोकीले चलाएको प्रदेश १(०२००२ च ३७०० नं। को कालो महिन्द्रा (जिप) गाडीमा राखेर ल्याउदै गरेको खबर प्राप्त भएपछि उनी सहित गाडीलाई नियन्त्रणमा लिइएको होे ।”
आवश्यक कानुनी कार्वाहीका लागि कानेपोखरी सव डिभिजन वन कार्यालय कानेपोखरीलाई जिम्मा लगाएको गिरीले बताए ।
पक्राउ परेको गाडी इलाका प्रहरी कार्यालय पथरीमा राखिएको छ । बुढाथोकीलाई आवश्यक पुर्पक्षका लागि सब डिभिजन बन कार्यालय बेलवारीमा राखिएको छ । ३ वर्ष उमेर अनुमान गरिएको चित्तलको तौल करिब ४० केजी जति भएको सब डिभिजन वन कार्यालय कानेपोखरीका अधिकृत तुलसीलाल यादवले बताए ।
मृत चित्तल बुधवार आवश्यक कागजात पुरा गरी जिल्ला प्रशासन कार्यालय मोरङमा बुझाइने र बुढाथोकीलाई वन्यजन्तु चोरी सिकारी अन्तर्गत मुद्धा चल्ने यादवको भनाइ छ । तर बुढाथोकी पक्राउ परे लगतै उनलाई छुटाउन र नियन्त्रणमा नलिन स्थानिय स्तर देखी प्रदेश स्तर सम्मका जनप्रतिनिधि र पार्टीका नेताहरुको फोन आउन थालेको यादवले बताए ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!