बेलबारी । मोरङको बेलबारी १ स्थित नक्सालबारीमा झुप्रोमा जीवन ब्यतित गर्दै आएका एक बृद्धा असाहय दम्पत्तिको घर बेलबारी जेसिजले निर्माण गरिदिने भएको छ ।
बेलबारी १ नक्सालबारीस्थित नक्साल सामुदायिक बन समुहको जंगल क्षेत्रमा रहेको एउटा सानो झुपडीमा जीवन गुजारा गर्दै आएका ८५ बर्षिया टेकबहादुर मगर र उनकी जीवनसंगिनी अन्दाजी ८० बर्षिया चन्द्रमाया मगर बर्षौदेखि त्यहि झुपडीमा जीवन ब्यतित गरिरहेका छन । मगर करिब ७ बर्ष त्यहि सामुदायिक बनमा काम पनि गरे,तर उमेर ढल्किँदै गएपछि उनले काम गर्न सकेनन,जाने ठाँउ कहिँकतै नभएपछि उनी त्यहि बनको एक छेउमा छाप्रो बनाएर जीवन ब्यतित गर्न थालेका थिए ।


मोरङको लेटाङ नगरपालिकास्थित फडानीबाट उनीहरु २०५० सालमा बेलबारी झरेका थिए । उनीहरुका ३ छोरा र एक छोरी भएपनि एकजनाको ४० बर्षको उमेरमा र अरुको सानैमा मृत्यु भएपछि उनीहरु एक्लिएका थिए ।
बृद्धा मगर दम्पत्तिको बिजोग अबस्था देखेपनि स्थानीय सामुदायिक बन समुह,वडा कार्यलय लगायत सँग समन्वय र सल्लाह पश्चात घर निर्माण गरिदिने तयारी भएको बेलबारी जेसिज बर्ष २०२० का अध्यक्ष राजेश खत्रीले बताए । उनले सोमबारदेखि घर निर्माण शुरु गर्ने समेत जानकारी दिए ।


आर्थिक रुपमा बिपन्न र आफनो भन्ने कोही नभएपछि सहाराबिहिन बनेका मगर परिवारको घर निर्माण शुरु गर्न लागेको बेलबारी जेसिजका निर्बतमान अध्यक्ष दिपेन्द्र खुलालले बताए । उनले मगरको घर निर्माणको पहल शुरु भएको बताए ।
जेसिज क्षमता अभिबृद्धि गर्ने संस्थाका रुपमा मात्र नभएर समाजका हरेक क्रियाकलापमा सहभागी हुँदै हातेमालो गरेर अघि बढनु पहिलो प्राथमिकता रहेको बेलबारी जेसिजका संस्थापक अध्यक्ष माधवराज थापाले बताए । बेलबारीमा ४ बर्षअघि स्थापना भएको बेलबारी जेसिजले स्थापना भएकै बर्ष पनि थापाकै नेतृत्वमा बेलबारी १ मै एक असाहय बृद्धाको घर निर्माण गरिदिएको थियो ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!