- ढाकाकुमारी पराजुली (तारा)

तिमी स्विकार
या नस्विकार जे गर
तर हामीले प्रेम दिवस थाहा हुनु भन्दा धेरै अघि
पढेका हौँ प्रेमको बर्णमाला
उतिबेलै हामी आफैंले उठाएका हौँ
प्रेमको बढेमान पर्वत
त्यहीँ बनाएका हौँ
प्रेमकै इँट्टा इँट्टा जोडेर सुरक्षित घर
बनाएका हौँ भव्य शहर
अनि बसाएका हौँ उज्यालो वस्ती
र एकाअर्कालाई गरेका हौँ बेस्सरी प्रेम।

त्यो समय
एक साथ सयौं सूर्यहरु उदाएको समय
अचानक भेटिएका थियौँ हामी।

यो सहर,
जहाँ,
जसरी फूलबाट छुट्टाउन सकिन्नं सुवास
जसरी आगो बाट छुट्टाउन सकिन्नं राप
त्यसैगरी छुट्टाउन सकिन्न
अनुहार बाट समावेशी आभा।
र अलग्याउन सकिन्नं मनको आलिशान बाट
प्रेमको लोकप्रिय लय।

नहिँडुन्जेल
बाटो झाडी बन्छ
हिंड्दै गएपछि गोहो बन्छ
यस्तै ससाना गोरेटोहरु भेटिएर
हामी चौडा सडक बन्यौँ।

झाङहरुबाट चिया टिपेझैँ
उमेरका रङ्हरु टिपेर
रङ्गै रङ्गको इन्द्रेणी बनायौँ
फूलहरुको वस्तीवीच
कहिले फूल त कहिले सुगन्ध बाच्यौँ।

रहरको लट्टाइमा फनफनी बाँधिएर
विश्वासको चङ्गा अग्लिरहयौँ
यो यस्तो उचाइ
यहाँ भन्दा माथि अर्को आकाश छैन
तमाम तारा नक्षत्रहरु यतै छन्

यो यस्तो प्रेमको सहर
जहाँबाट संसार देख्न सकिन्छ
कैयौंपटक देखेका हौँ यहीँबाट हामीले
विसङ्गत र असभ्य शर्तहरु
असिनाजस्तै बिलाएर उल्टो बगेको
अनि पहिलो पटक
यही सर्वोच्च प्रेम सिबिरमाथि बसेर
गाएको हो हामीले प्रेम गीत
र एक एक टुक्रा कलेजो निचिरेर
रातो मसीले लेखेको हो
प्रेमको सर्वमान्य र सार्वभौम सिद्धान्त।
( कवि पराजुली बेलबारी नगरपालिकाकी उपमेयर हुन ।

तपाईको प्रतिक्रिया