बेलबारी । मोरङको बेलबारी नगरपालिका–१० भाउन्नेमा रहेको सिर्जना सामुदायिक वनको २१ हेक्टर क्षेत्रफलमा तीन वर्षदेखि सयभन्दा बढी ठूला ढुंगा छरपस्ट छन् । हरेकमा केही न केही चीजको मूर्त र अमूर्त आकृति कुँदिएका छन् ।
जापानका नोरिओ ताकाओका, इटालीका माकी नाकामुरा, जर्मनका पिटर हारगेट, भारतका अनुपकुमार गुप्ता र बंगलादेशका अभिजित कान्तिदाससहित स्वदेशी १६ जना मूर्तिकारले तीन साता लगाएर मूर्ति बनाएका थिए । तीन वर्षअघि बनाइएको यस ‘मूर्तिको बगैंचा’ बेस्याहार बनेको छ ।
उक्त बगैंचा निर्माणका लागि प्रदेश सरकारको ४० लाख, बेलबारी नगरको ५ लाख र सामुदायिक वनको आम्दानी, स्थानीयको सहयोग गरी करिब दुई करोड रुपैयाँ खर्च भएको थियो । सिर्जना सामुदायिक वनले करिब १ करोड ८४ लाखको लागतमा त्यहाँ सिर्जना पार्क निर्माण अभियान सुरु गरेको थियो । अभियानलाई सघाउन विदेशी ६ र स्वदेशी १६ मूर्तिकार खटेका थिए ।
उनीहरूले करिब सयवटा ठूला ढुंगामा फरक–फरक आकृतिका मूर्ति बनाएका थिए । अहिले त्यो क्षेत्र बेवारिसेझैं भएको छ । मूर्ति खोपिएका ढुंगा छरपस्ट छरिएका छन् । मूर्तिमा लेउ लागेको छ । केको मूर्ति भन्ने छुट्याउन गाह्रो छ । सृजना सामुदायिक वनका अध्यक्ष छत्र लिम्बूका अनुसार बजेट अभावले व्यवस्थित बनाउने योजना अलपत्र परेको हो ।

तपाईको प्रतिक्रिया