बेलबारी । बेलबारी नगरपालिकाले जेठ दोस्रो साता किसानहरुलाई अष्ट्रेलियाबाट चार्टर गरी ल्याएर बितरण गरेको भनिएको फुल ब्लड बोयर जातको बाख्राका बिषयमा छानविन गर्न बनेको छानबिन समितिले २४ दिन बित्दा समेत प्रतिवेदन सार्बजनिक गर्न सकेको छैन ।
नगरपालिकाले बितरण गरेको बाख्रा अष्ट्रेलियाबाट नभई नवलपरासीबाट ल्याईएको र फुल ब्लडको नभएको स्वयं नगरपालिकाले नै पुष्टि गर्दै ठेकेदार कम्पनी ग्रो अग्र्यानिक संखुवासभालाई कालो सुचिमा राखेर ठेक्का समेत रद्ध गरिसकेको र सोही बिषयमा नगरबासीहरुको चर्को आलोचना पछि छानबिन समिति बनाएर छानबिनको जिम्मा दिईएको थियो ।
नगरपालिकाले पहिलोपटक बेलबारी नगरपालिकाकी उपमेयर ढाकाकुमारी पराजुलीको संयोजकत्वमा बनाएको समिति संयोजकले नै अस्वीकार गरेपछि दोस्रो पटक बेलबारी वडा नम्बर १ की वडासदस्य बिन्दुकला गुरुंगको संयोजकत्वमा छानबिन समिति बनाएको थियो । सो समितिमा काँग्रेसका तर्फबाट राजेन्द्र अधिकारी,माओबादी केन्द्रका तर्फबाट किशोर भण्डारी,जनता समाजवादीका तर्फबाट केशव थापामगर सदस्य रहेका छन भने नेकपा एमालेले भने प्रतिनिधि पठाएको छैन । ४ सदस्यीय समितिले असार ५ गतेबाट काम शुरु गरेको थियो ।
काम शुरु गरेको २१ दिन बितिसक्दा पनि सो काण्डको वास्तविकता सार्बजनिक नहुँदा नगरबासीहरु अन्यौलमा रहेका छन । छानबिन समितिका एक सदस्यका अनुसार अहिलेसम्म सोधपुछ लगायतका काम नसकिएका कारण अझै समय लाग्ने र प्रतिवेदन तत्काल आउने सम्भावना नरहेको बताए ।
३ साता बितिसक्दा समेत छानबिन समितिले प्रतिबेदन सार्बजनिक गर्न नसक्नु दुःखद रहेको नगरबासीहरु बताउँछन । यति लामो समय सम्म प्रतिबेदन सार्बजनिक नहुँदा कतै सत्यतथ्य प्रतिवेदन सार्बजनिक नहुने हो की भन्ने आशंका समेत सिर्जना गरेको छ । बाख्रा काण्डका बिरुद्धमा अख्तियार अनुसन्धान आयोग क्षेत्रीय कार्यलय ईटहरीमा उजुरी समेत परेको छ । स्थानीयहरु चाँडो भन्दा चाँडो बाख्राकाण्डको वास्तविकता सार्बजनिक हुनुपर्ने बताउँछन ।

तपाईको प्रतिक्रिया