बेलबारी । जङ्गलमा उम्रिने निगुरो मोरङको उत्तरी ग्रामीण क्षेत्रका निम्न वर्गका वासिन्दाका लागि आयआर्जनको माध्यम बन्ने गरेको छ ।
मोरङको उत्तरी ग्रामीण क्षेत्रका निम्न वर्गका वासिन्दाले सागको रुपमा भान्सामा प्रयोग हुने निगुरो टिपेरै नुनभुटुनको जोहो गर्दै आएका छन् । उर्लाबारी नगरपालिका र मिक्लाजुङ गाउँपालिकाको बीचमा पर्ने डुम्रेको जङ्गलमा दिनहुँ निगुरोको साग टिप्ने गरिन्छ ।
मोरङको उत्तरीक्षेत्रमा अवस्थित यो चारकोसे झाडीमा प्राकृतिक रूपमा उम्रिने निगुरो यस क्षेत्रका निम्नवर्गका मानिसका लागि आयस्रोतको बन्ने गरेको छ । निम्न आयस्रोत भएका सर्वसाधारण दिनहुँ यो जङ्गलमा निगुरो टिप्न प्रवेश गर्छन् ।
उर्लाबारीको उत्तरी वडाका साथै मिक्लाजुङसहित अन्य गाउँपालिका सर्वसाधारणसमेत यहाँ निगुरो सङ्कलन गर्न आउँछन् । एकाबिहानै जङ्गल प्रवेश गर्ने उनीहरू दैनिक ८ देखि १० घण्टाको समय खर्चिएर निगुरो सङ्कलन गर्छन् ।
मिक्लाजुङ गाउँपालिका–३ की भीममाया विक दैनिक छिमेकी महिलासँग निगुरो सङ्कलन गर्न जान्छिन् । बिहान ८ बजेदेखि ३ बजेसम्म लगातार टिप्दा प्रायजसो दैनिक एक डोको निगुरो लिएर गाउँ फर्किने गरेको उनले बताइन् । अन्य महिनाको तुलनामा वर्षाको तीन महिना निगुरो बढी पाइने गरेको उनले सुनाइन् ।
मधुमल्ला टाँडीकी देविका दर्जीसमेत दैनिक महिलाको समूह बनाएर डुम्रेको यो जङ्गलमा निगुरो सङ्कलन गर्न आउँछिन् । बिहानबेलुकाको घरधन्दाबाट बचेको समय उनले नियमितरूपमै निगुरो टिप्न खर्चिन्छिन् । निगुरो टिपैरै बालबच्चाको भरणपोषण र घरखर्चसमेत चलाउने गरेको उनको भनाइ छ ।
मधुमल्लाको टाँडीबाट निगुरो सङ्कलन गर्न आइपुगेका मनबहादुर रसाइली पेशाले दैनिक ज्यालादारी मजदुरी हुन् । पछिल्लो समय कोरोनाका कारण सुरु भएको लकडाउन र निषेधाज्ञाका कारण ज्यालादारी गुमेपछि उनीसमेत निगुरो टिपेरै दैनिक गुजारा चलाइरहेकी छन् । निगुरो टिपेरै सबै खर्च नचल्ने भए पनि भरथेगसम्म हुने गरेको उनको भनाइ छ ।
जङ्गलबाट सङ्कलन गरिने निगुरो अधिकांश रूपमा गाउँघरमै खपत हुने गरेको छ भने पूर्वपश्चिम महेन्द्र राजमार्गको सडक किनार यसको मुख्य बिक्रीस्थल हो । राजमार्गको यात्रा गर्ने अधिकांश यात्रीहरूले मोरङको पथरी, कानेपोखरी र भाउन्ने चोकमा नियमित बिक्रीका लागि राखिने निगुरो खरिद गरी लान्छन् ।
पौष्टिक सागको रूपमा भान्सामा प्रयोग गरिने निगुरो २० रुपैयाँदेखि ३० रुपैयाँ मुठासम्म बिक्री हुँदै आएको छ । निगुरो प्राकृतिक रूपमै उम्रिने र हुर्किने भएकाले विषादी र मलखादको दुष्प्रभावबाट समेत मुक्त हुन्छ ।

तपाईको प्रतिक्रिया