मिक्लाजुङ / मोरङको मिक्लाजुङ गाउँपालिका ७ का ४३ वर्षिय धनराज लिम्बुको हत्या आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।
इलका प्रहरी कार्यालय उर्लाबारीले लिम्बुको हत्या आरोपमा मिक्लाजुङ ६ का ३३ वर्षिय रविन तामाङ्ग, ३३ वर्षिय आइतराज तामाङ्ग, २६ वर्षिय संन्जय तामाङ्ग र ४० वर्षिय भाग्य तामाङ्गलाई आइतबार पक्राउ गरेको हो । पक्राउ परेका मध्ये रविन, आइतराज र संन्जय दाजु भाई हुन् ।
भदौ ३ गते राती पक्राउ परेका रविन र उनकी श्रीमति निरुता तामाङ्ग बिच घरयासी विषयलाई लिएर झगडा परेको थियो । झगडा परेपछि छिमेकी धनराज छुटयाउन गएको बेला तीन जना दाजुभाइले आक्रमण गरेर घाइते बनाएका थिए । घाइते भएका लिम्बुको उपचारको क्रममा विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमा शनिबार राति ११ः४५ बजेतिर मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए ।
पारिवारिक झगडालाई लिएर छिमेकी लिम्बुको हत्या भएको अनुसन्धानदेखि खुलेको डिएसपी श्रेष्ठले बताए । रविन र निरुता मिक्लाजुङ–७ भण्डारी टोलमा डेरा गरेर बस्दै आएका थिए । बहिनी–ज्वाईंको झगडा भएको सुनेपछि रविनका जेठान ४० वर्षीय भाग्य बम्जन (तामाङ) आफ्नो मासु पसलमा आएका ५५ वर्षीय दुर्गाबहादुर कार्की र लिम्बूलाई लिएर रविनको डेरामा पुगेको खुलेको प्रहरीले जनाएको छ ।
त्यहाँ पुगेर परिवारमा झगडा नगर्न एवं मिलेर बस्नका लागि सम्झाईबुझाई गर्ने क्रममा रविन, आइतराज र सञ्जयसहितले लिम्बू र कार्कीमाथि दाउराले कुटपिट गरेको डिएसपी श्रेष्ठको भनाइ छ । कुटपिटबाट सामान्य घाइते भएका दुर्गाबहादुर भने उपचारपछि घर फर्किसकेको प्रहरीले जनाएको छ । आइतबार विदा भएकोले इप्रका उर्लाबारीले सोमबार घटनामा संलग्नलाई कर्तव्य ज्यान मुद्दामा मोरङ अदालतमा म्याद थप गरेर अनुसन्धान सुरू गर्ने तयारी गरेको छ ।

तपाईको प्रतिक्रिया