बेलबारी । आजवाट साउन महिना सुरु भएको छ । साउनको सुरुवातसँगै गाउं शहरमा धेरैजसो महिलाका हात मेहन्दी र रंगीबिरंगी चुराले सजिएको देख्न सकिन्छ । साउन महिना नेपाली हिन्दु नारीहरुका लागि विशेष महत्वको महिना हो । यो महिना सुरु हुन नपाउंदै महिलाहरु रंगीन हुन थालेका हुन् । हरियो, रातो, पहेंलो चुरा, पोते, हातमा मेहन्दी, र शरिरमा लुगा पनि हरियो नै देख्न पाइन्छ ।
खासगरी केही वर्ष यता नेपाली महिलाहरु साउन महिना भरी हरियो रंगमा रंगीन थालेका छन् । यो महिना भरी हरीयो रंगले विशेष महत्व राख्दछ । आफन्तलाई भेट्न जांदा महिलाहरुले एक अर्कालाई हरियो चुरा टिका लगायत श्रृंगारका सामग्री उपहार लिएर जाने । एक अर्कामा माया साटासाट गर्न माध्यम बनेको छ यो महिना । बालिका, युवती, वयस्क वा वृद्ध सबैलाई साउन महिनामा हरियो रंग नै मन पर्छ ।
साउन महिनामा खासगरी हिन्दु धर्मावलम्बीहरुले भगवान शिवको पूजा आराधना र बर्त बस्ने परम्परा छ । यो एउटा धर्म र संस्कृतीका लागि पवित्र महिना हो । महिलाहरु शुद्ध साकाहारी खाना खाने अथवा यो महिनाको सोमवार ब्रत बस्ने गर्दछन् ।
पार्वतीले साउन महिनाभरि निराहर रही कठोर व्रत बसेर भगवान शिवलाई प्राप्त गरेको धार्मिक विश्वास छ । त्यसैले पनि महिलाहरुले यसलाई बढी महत्वको साथ धार्मिक र सांस्कृतिक रुपमा यो महिनालाई बढी महत्व दिएको पाइन्छ । साउनमा हरियो, पहेंलो र रातो चुरापोते एवं कपडा लगाउनुको पनि आफ्नै अर्थ छ । हरियोलाई प्रेम र वातावरणको, रातोलाई सौभाग्यको एवं पहेंलोलाई पवित्रताको प्रतीकको रुपमा लिइन्छ । ‘यसकारण पनि साउन महिनामा हरियो, पहेंलो रातो सम्मिश्रण गरी लगाउने चलन स्थापित हुंदै गएको छ ।
रंगीचंगी चुरापोते र कपडासँगै साउन महिनामा हातभरी मेहन्दी लगाउने चलन पनि छ । हाम्रा आमा हजुरआमाहरुले पहिले पहिले मेहन्दीको ठाउ“मा तिउरे लगाउने गर्नुहुन्थ्यो । त्यतिबेला अहिले जस्तो बुट्टा भने भरीदैनथ्यो । असारको अन्तिम रात हातमा तिउरे लगाएर रातभरी राख्ने र साउनको १ गते विहान धुने चलन थियो । अहिले मेहन्दीले त्यो ठाउं लिएको छ ।
हत्केलामा जति बढी गाढा मेहन्दीको रंग राख्यो, उति नै बढी श्रीमानको माया पाइन्छ भन्ने धार्मिक विश्वास छ । तर सबै महिलाहरुले यही विश्वासमा मेहन्दी लगाएका होइनन् । यो एउटा फेसनका रुपमा विस्तार हुदैछ ।
साउन महिना हरियाली प्रकृतिको महिना भनेर चिनिने गरिन्छ । हिन्दु धर्म शास्त्रमा त साउन महिना महिलाहरुको शक्तीको महिना भनेर ब्याख्या गरीएको छ । साउन महिनाको हरियो रंगलाई उर्बर शक्तिका रुपम मानिने गरेको छ । साउन महिनामा भएको प्रकृति परिवर्तनले हामी मानिसहरुको हर्मोन नै परिवर्तन गरिदिने गर्दछ जसको प्रभाब आफ्नो शरीर अथवा मनमा परेको हुन्छ ।
ज्योतिस शास्त्र अनुसार साउनमा हरियो रंग बुधबाट प्रभावित हुने गर्छ । त्यसैले बुधबाट प्रभावित हुने हरियो चुराले हाम्रो भावना नियन्त्रण गर्ने काम गर्छ साउन महिनाको महत्व यती मा मात्र सिमित छैन । साउने सक्रान्तिमा लुतो फाल्ने, खिर खाने चलन छ । यसलाई कर्कट सक्रान्ति पनि भनिन्छ । वर्षा याम सुरु भएपछि रोपाई गर्दा पानीमा खेल्ने भएकाले पानीजन्य रोग लाग्ने गर्छ । त्यस्तो पानीजन्य रोगबाट मुक्ति मिलोस् भनेर साउने सक्रान्तिमा विभिन्न औषधिजन्य जडीबुटी आगोमा बालेर अगुल्टो बनाई घर वरपर पाल्ने चलन छ । जसलाई लुतो फाल्ने भनिन्छ । श्रृंगारका सामग्री बेच्ने ब्यापारीहरुका लागि साउन महिना देखी ब्यापार सुरु हुन्छ । साउनमा चुरापोते लगायत श्रृंगारका सामग्री किन्ने महिलाहरुको पसलमा ठुलो भिड देख्न सकिन्छ ।

तपाईको प्रतिक्रिया